जातीय पहिचान खराल थर हुनेहरुको

नेपालका खराल जात र थर हुनेहरुको बास्तविक उद्गमस्थल गुल्मीको रमणीय पवित्र र ऐतिहासिक स्थल, सालिमेदह–दिब्रुङ धामका सानिध्यमा रहेका ददल्का, दाङ्गसिङ्ग, छिस डासिकोट ठूलाखर्क वामी भेडुवा आपचौर, धुमी, खर्बाँङ, लुगदी, करौव्दीप, अर्जेवा सराङ्ग, किहुं आदि ठाउँहरु हुन् । नयाँ संरचना अनुसार लुम्बिनी प्रदेश गुल्मी जिल्ला मुसिकोट नगरपालिका र चन्द्रकोट गाउं पालिकाका विभिन्न भुभागहरु नै खरालहरुको मुख्यथलो बनेको छ । यहाँबाट उनीहरूको फैलावट देश बाहिर र देशभित्रका विभिन्न भू भागहरुमा भएको हो । संक्षेपमा खराल जात थर हुनेहरुको पहिचान, आगमन, विकास, अवस्थिति , अवस्था आदि विषयहरू लाई समेट्ने प्रयत्न गरिएको छ ।

बिभिन्न समुहमा आबद्ध हाम्रा पूर्वजहरू स–साना समूहहरूमा.विभक्त भएका र विभिन्न ठाउँ चाहार्दै हिँड्दै फिरन्ते कबिला जीवन बिताइरहेको अवस्था हो र उनीहरु फिरन्ते जीवनमा आधारित थिए । स – साना झुण्ड समूह बनाएर एक आपसमा भिड्दै संघर्ष गर्दै कहिले मेलमिलाप कहिले लडाइँ झगडा, विभिन्न खाले संघर्षका गाथाहरूले भरिएको छ हाम्रो विगत । मूलतः समृद्ध इतिहास निर्माणमा हाम्रा पूर्वजहरुको आप्रवासनले मानव जातिको विकास र उत्थानमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । नेपालमा भोट बर्मेली मङ्गोल मुलका जनजातिहरु नेपालको पूर्व उत्तर हुँदै नेपालमा प्रवेश गरेका थिए । यसरी नै कतिपय दक्षिणतिरबाट कतिपय उत्तरतिरबाट नेपाल प्रवेश गरेका छन् यसैगरी नेपालका विभिन्न भूभागबाट अरु ठाउँमा जाने आउने क्रम चलेको कुरा इतिहासमा उल्लेख गरिएको छ ।

आर्यन नस्ल का ब्राह्मण क्षेत्री लगायतका जातीहरु युरोपका विभिन्न भागहरू हुँदै ककेसस पर्वत शृङ्खला पार गरेर भूमध्य सागर आसपासका ठाउँहरूमा आएका थिए । यिनीहरूको पनि सीप, श्रम र जाँगर सिन्ध नदी घाटी सभ्यता निर्माणमा सिर्जित छ । तिनै आर्यन हरुको विभिन्न हिस्सा मध्येका केही समुह क्षेत्री र ब्राम्हण लगायतका जातिहरू.. सिन्ध सभ्यताको उद्गम स्थल सतलज र सिन्धु नदी बहाव क्षेत्रबाट भारतको कश्मीर गढवाल हुँदै नेपालको पश्चिमोत्तर हुम्ला–जुम्लाको सिंजा उपत्यकामा फैलिएको र त्यहाँ हुँदै नेपालका विभिन्न भूभागमा बसोबास गरिआएको भनाइ छ ।
यसै मेसोमा खराल जातिका पूर्वजहरू पनि सिंजा उपत्यका आएको विभिन्न अध्ययनले भन्न सकिन्छ । पछि उनीहरु सिन्जा उपत्यकाबाट विभिन्न ठाउँहरु चहार्दै अन्तिममा दैलेखको खारमा आएर अलि समय बसेको हुनसक्छ । त्यहाँ उनीहरुले ज्योतिस विद्यामा दखल राख्ने भएको हुनाले स्थानीय राजघरानाका राज ज्योतिसि, पुजारी, मूल पुजारी आदि विभिन्न तहमा काम गरेका रहे छन् ।
प्रतिष्ठानले आफ्नो वंशावली तयार गर्दा सम्म गरिएको अध्ययन र निष्कर्षको आधारमा दैलेखको खारलाई खरालहरूको पितृभूमिको रुप दिइएको छ । वंशावलीका अनुसार उनीहरु त्यहाँबाट जाजरकोट रुकुम प्यूठानको खरा बागलुङ हुँदै पर्वत र पर्वतबाट दाङ जान भनी स्याङ्जा भई आउँदै गरेका पण्डित श्री शर्मा खराल जैसी समेतका परिवारहरुलाई गुल्मी मुसीकोटका राजाले आफ्नै राज्य अन्तर्गत पर्ने दाङसिङमा विर्ता दिइ बसाएको भनाइ छ । पण्डित श्री शर्मा खराल जैसिका छोरा अग्निहोत्री ज्योतिष अग्निदेव खराल थिए । अग्निधर खरालका छ भाइ छोराहरू भएकोमा जेठी पट्टिका चार भाइलाई दिब्रुङ का गुरुङ राजाले आपचौरको जग्गा बिर्ता दिएको हुनाले जेठी पट्टिका चार भाइहरूको बसाइ आँपचौरका विभिन्न ठाउहरुमा रह्यो । कान्छी पट्टिका दुई भाईको बसाइ ददल्का दाङसिङमा रह्यो ।
नेपालमा रहेका खरालहरुका आदिपुरुष श्रीशर्माका १ मात्र छोरा अग्निधर रहेका र उनका ६ भाई छोरा बाट फैलाएका हरुलाई बगाल भनिएको छ । तिनीहरु हुन्।
जेठी पट्टीकाःः १ दामोदर – आटिघरे बगाल २ नारद – व्याडे बगाल
कान्छी पट्टिकाःः ३ शंकर – साहु बगाल
४ शुकदेव – भौतका,धुमी, सिम्मटे, बगाल.
५ कालुराम–(बैदार,मुले,द्वारे,) बगाल ६. गोवर्धन गोब्रे (डिट्ठाका, पल्लारे, धैरेनीका, वडारे, सराङे ) बगाल
पछिल्लो समयमा मुख्य ६ वगाल भित्रका भनेर प्रष्ट भन्न नसकिने तर विविध भुगोलमा फैलाएका केही समुहहरुलाई पनि बगालको रुपमा राख्नु पर्दछ भनेर विषय उठि रहेको छ यसमा थप अनुसन्धानको आवश्यकता छ । साथै छोरीहरुको बिबरण, तथ्याङ्क सहितको तयार गर्नुपर्ने आबश्यकता देखिएको छ ।
अहिले यिनै ६ वगाल मूल रुपमा र उपवगाल गरि खरालहरु नेपालका विभिन्न जिल्लाहरुमा फैलिएका छन् । गुल्मी, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, रुपन्देही, नवलपरासि, अर्घाखाँची, चितवन, पर्सा, मकवानपुर, नवलपुर, कपिलबस्तु, दाङ, सुर्खेत , बाके, बर्दिया, कैलाली, कन्चनपुर, मोरङ, कास्की, काठमाण्डौ, भक्तपुर र ललितपुर आदि जिल्लामा रहेका छन् ।
यसरी नै भारतका आसाम , देहरादुन भुटान लगायत धेरै ठाउँमा बसी रहेका छन । वर्मा फिजिमा उनीहरुको उपस्थिति छ । पछिल्लो समय, अमेरिका, अष्ट्रेलिया क्यानडा र संयुक्त अधिराज्यमा फैलिएका छन् । पश्चिम र पुर्वी युरोपका विभिन्न ठाउँमा र फिनल्यान्डमा उपस्थिति रहेको छ ।
२०५८÷०९÷२२ गतेका दिन भरतपुर वडा नम्बर ४. वैदिक नगर, चितवनमा आयोजना गरिएको भेलाले, खराल प्रतिष्ठान स्थापना गर्ने महत्वपूर्ण र ऐतिहासिक निर्णय गरेको थियो । खराल प्रतिष्ठान नेपालको स्थापना नेपाल र विश्वभर फैलिएर बसी आएका खरालहरुका आदि–पुरुष श्री शर्मा जैसीका शाखा सन्तानहरुलाई गोलबन्द गर्ने, एकतावद्ध गर्ने , आफ्नो बंश रगत को साइनो सम्वन्धलाई नजिक्याउने, सुदृढ गर्ने, संगठनमा आवद्ध गर्ने सेवामुलक र सामाजिक संस्थाको रुपमा रहेको देखिन्छ । संगठनात्मक काम, प्रचारात्मक काम, प्रकाशन लगायतका धेरै कामहरु सम्पन्न गर्ने दायित्व प्रतिष्ठानको रहेको छ । बृहत्तर गुरु योजना तयार गर्ने र त्यसको योजना अनुसार बिभिन्न निर्माण कार्य अघि बढाउनु पर्दछ ।
खरालहरु अहिले मिश्रित रुपरंगमा देखिएको भएता पनि उनीहरु आर्यन नश्लका हुन्. । गोरो वर्ण, गहुँ गोरो, र कल्छौदो बर्णका , लामो नाक अग्लो ठूलो शरिर खासमा खराल वंशका मानिसहरुको बदन भएको देखिन्छ । उनीहरु. परिश्रमी र औषध दिमाकमा तेज नै देखिन्छन र समाजका चल्ता पुर्जा मानिसहरु भित्र पर्दछन् ।

हाम्रो पूर्वजहरुको इतिहास सिन्धु घाटी सभ्यतासंग जोडिएको हुन पनि सक्छ , नहुन पनि सक्ला । तथापिः बलियो आधार त्यहाँबाट धपाइएका लखेटिएका वा बसाइँ सरेका हिन्दु ब्राह्मण क्षेत्रीहरूको ठूलो पंक्ति अतिवादी शासकहरुको धर्म परिवर्तनका लागि जोर जबरजस्ती बढी शक्ति प्रयोग गरेकै कारण उनीहरु मध्यका केही समुहहरु नेपालको पश्चिम उत्तर हुँदै हुम्ला – जुम्लाको सिञ्जा उपत्यका लगायतका ठाउहरुमा आइ बसेको पाइन्छ । त्यसैमेसोमा खराल जातिहरु पनि आएको एउटा आधार यो पनि हुनसक्छ ।
शुरुवाति चरणमा गारो–सारो गरेर खरालहरुको संगठन निर्माण भएको भए पनि खराल प्रतिष्ठान नेपाल अहिले ठीक गतिकासाथ अगाडि बढेको छ । आफ्नै स्वामित्वको जमिनमा करोडौका भौतिक संरचना बनेका छन । संगठनात्मक संरचना भित्रको महत्वपूर्ण अंग केद्रिय समिति क्रियाशिल गतिशील छ । तल तल पनि संगठनात्मक संरचनाको जाल फैलाइएको छ । मूलभूत रूपमा आफ्नै समुदायको तर्फबाट संकलित आम्दानीबाट र कतिपय सरकारी गैर सरकारी संस्थाको सहयोगबाट निर्माणका कामहरु भएका छन ।
\
खराल बंशोद्धार प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष गुनाखर खराल र वर्तमान अध्यक्ष यदुमणी खराल रहनु भएको छ । यसको केन्द्रिय कार्यालय र कालिका कुल मन्दिर गैडाकोट नगरपालिका को वडा नं १४ कालिकानगर ( १६ नं गिदाह ), नवलपुरमा रहेको छ ।
कुनै पनि संस्थाको काम निरन्तरमा चलिरहने र गतिशीलता प्रदान गर्ने विषय हो । खराल कुल बन्धुहरुका सामु केही दायित्वहरु छन्, केही काम तात्कालिक छन र केही काम दिर्घकालिन छन र केही कामहरु शुरु गरेर अगाडि बढनुपर्ने देखिन्छ ।
१. खरालहरुको खास उपस्थिति र खास अबस्थाको लागि को कहाँ बसी आएका छन्, समग्र वायोडाटा समेटिने गरेर सामाग्रिक विवरण सहितको तथ्यांङ्क तयार गर्ने बारेमा योजना बनिरहको छ । को को छन् कति छन्, कुन अवस्थामा रहे बसेका छन् । वेभ साइडमा डिजिटल सिस्टम अर्थात अन लाइनबाट फारम भरिनेछ । यसको प्रवीधि तयार गर्नुपर्ने छ र यो कामको वारेमा छलफल परामर्श भै रहेको छ ।
२. श्री शर्माका शाखा सन्तती ६ भाइ वगाल मध्यबाट केही खराल बंशका परिवारका केही सदस्यहरु मूलप्रवाहबाट अलग भएका छन् । संख्या सानो छ , एउटै परिवार भित्र पनि फरक फरक दृष्टिकोण पाइन्छ । उनीहरु बसिष्ट गोत्र हाम्रो हो, शास्त्र प्रमाणले त्यही भन्दछ भनेर अगाडि बढिरहेका छन् , वशिष्ट गोत्र मान्ने फरक धारमा लागेकाहरुले गैडाकोटमा अलग कुल मन्दिर स्थापना गरेर अगाडि बढीरहेको र मूल प्रवाहमा नरहेको अवस्था छ ।
उनीहरु भित्र एकाध बाहेक अरुमा बहुमतबाट लिइ रहेको विचार लाई नै आधार मानेर जानु पर्दछ कि भन्ने मत वलियो बन्दै गएको छ । तसर्थ अल्पसंख्यक परिवारका सदस्यहरुलाई मूलप्रवाहमा आउन आह्वान, अनुरोध , वार्ता सम्वादको आवश्यकता छ । समग्रतामा लचकताका साथ अगाडि बढनु पर्ने दायित्व संस्थापन पक्षको हुन जान्छ ।

३. प्राप्त साधन श्रोतको अधिकतम परिचालन गर्ने, निर्माण र रचनात्मक काम गर्ने बारे प्रयाप्त योजना बनाउन तथा अक्षय कोष राख्न चाहनेहरुको लागि विविध विषयमा अप्सन राखेर एउटा छुट्टै कार्यविधि वनाउन आवश्यक देखिन्छ ।
४ वास्तविक थर खराल र गोत्र बत्स भएकाहरुले आफ्नो नामको पछाडि थरमा खराल लेख्न आवश्यक छ र हुनु पर्ने त्यहि हो । तर, यथार्थमा खराल भएर पनि आफ्नो कमजोरीका कारण समग्र डकुमेन्टहरू जसमा नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचय पत्र र जग्गा धनी प्रमाणपत्र , खानेपानी बिद्दुत स्वास्थ शिक्षा सबै प्रमाणपत्र वा पुर्जाहरुमा खरेल लेखिएको छ । बैधानिक , कानुनि हिसाबले उनीहरु खरेल हुन् । तर उनीहरुको जातिय सांस्कृतिक पहिचान, गोत्र बत्स र जात वा थर खराल हो । कतिपयको नागरिकतामा खराल छ , लालपुर्जामा खरेल हुन गएको छ एउटै घरमा पनि परिवारका सदस्यहरूका प्रमाणपत्रहरुमा फरक – फरक लेखिएका छन् । . समग्रतामा छासमिस छ । तसर्थ यो विषयले खरालहरुको बीचमा एउटा व्यवहारिक र प्राविधिक समस्या दैनन्दिन जीवनमा परेको छ र यसले सबैलाई अपठ्यारो पारेको छ ।

तसर्थ यो विषयमा ढिलो चाडो व्यवहारिक निकास निकाल्नु पर्ने भएको छ । यसको लागि २ बिकल्प छन् पहिलो सबै प्रकारका डकुमेन्ट बदल्ने । खरेलको ठाउँमा खराल बनाउन संस्थागत पहलकदमीमा जाने । दोश्रो बिकल्प प्रतिष्ठानको आफ्नो संस्थागत डकुमेन्ट परिभाषित गर्ने र आबश्यक शब्द संयोजन गर्ने, संशोधन गर्ने । त्यसको लागि बहस छलफल ओपन गर्ने । यो विषयमा सबै सरोकारवाला पक्षहरु गम्भिर बन्न आवश्यक. छ ।
५.कुल पूजाको बारेमा – खरालहरुका कुलदेवता कालिका माता हुन् । उनको वर्षको दुईपटक वर्षे दशैं र चैते दशैमा विधिपूर्वक पूजा गर्ने गरिन्छ । खराल बंशका पुरुषहरु मात्र कुल पुजाको पुजारी हुने चलन छ । केन्द्रिय कालिका कुल मन्दिर र अन्य केही कुल मन्दिरमा पशु बलि पुजा गरिदैन । विधिपुर्वक अन्य तरिकाले कुल पुजा गरिन्छ । तर धेरै कुल मन्दिरहरुमा पशु बली पुजा दिने प्रचलन अझै कायम नै छ । उनीहरुको पुजामा पुजेरिको चोखनिष्टमा बिशेष ध्यान पु¥याउनु पर्ने हुन्छ । कुलायन पुजामा महिलाको प्रबेश हुदैन र पुजा कालो पर्दा लगाएर गर्ने चलन छ । पुजामा प्रत्येक खराल परिवारका घरबाट घरका प्रयोगमा आउने कोदाला , बन्चरा हसिया फाली जस्ता औजारहरु पनि काल–रात्रीका दिन लगेर पुज्न पर्दछ ।
यस अतिरिक्त उभौंलि उधौली पर्व, माई पुजा , डाँडापरिका बाजे थानपति पुजा उनीहरूका चलनहरु मा रहेका छन् , ठाउँ विशेष हेरी यसका विधि र तरिकाहरू अपनाउने गरिएको छ ।
पुर्वका खरेलहरु र दाङ्गसिङ्ग ददल्का बाट फैलिएका खराल ÷ खरेल हरुको गोत्र मिल्दैन अरु इतिहास मिल्दैन हालसम्मको अध्ययन र खोजले हामी एउटै गोत्रका हौ भन्ने आधार देखिदैन । त्यसरी नै काभ्रे लगायतका ठाउँमा रहे बसेका बशिष्ट गोत्र मान्ने खरेल र खरालका बीचमा सामिप्यता थप केही छकि यसको बारेमा अनुसन्धानको उत्तिकै आबश्यकता देखिन्छ ।

खराल जातिको पहिचान बोकेको मुसलवान हरुको बाक्लो उपस्थिति पाकिस्तान र भारतमा छ , इतिहासमा त्यतिवेला देखिनै उनीहरुको पहूच राजकिय भुमिकामा रहेको कैयौ राज घराना नजिक काम गरेको, कतिपय जमिनदारी गरिरहेका चल्तापुर्जा समुदायमा रहेको पाइएको छ । अहिले पनि खरालहरु त्यहा सेना, प्रहरी, प्रशासनमा, उपल्लो ओहोदामा रहेका छन् । उनीहरुको भनाइ हामी हिन्दुबाट परिवर्तन भएका हौ, हाम्रा पुर्वज हिन्दु नै थिए भन्ने रहेको पाइन्छ । बिभिन्न सिम्टम वा चिन्हहरुमा मेल हुन गएका र आफ्ना पूर्वज हिन्दू खराल मान्ने मुश्लिमहरु ठूलो संख्यामा भारतको पंजाव , राजस्थान , हिमान्चल, पाकिेस्थानको लाहोर लगायत का विभिन्न भागहरुमा वसी आएका छन । यी भागहरुमा खराललाई आफ्ना पूर्वज मान्ने राजपुत हरुमा हिन्दुहरुको उपस्थिति रहेको पाइन्छ । यिनीहरुले आफ्नो नाममा खराल राख्ने गरेका छन् ।
विभिन्न अध्ययनले के देखाउँछ भने खराल थर हुनेहरु अल्पसंख्यक भए पनि उनीहरु संघर्षशील जाँगरिला र आफू रहे बसेको ठाउँमा समाजका अगुवाको रुपमा रहेर काम गरिरहेको पाउँछौं । खरालहरुको पूर्व इतिहासको बारेमा र उनीहरुको समग्र पाटा पक्षको बारेमा थप अनुसन्धान र विश्लेषणको आवश्यकता छ । यसमा संलग्न अध्येताहरूलाई प्रोत्साहित र उत्प्रेरित गर्न जरुरी छ । तथापि इतिहास र वर्तमानले खराल नामाकरण भएर अघि बढेका समुदाय समाजमा आफ्नो पहिचान शान ओज हिम्मत र गौरवकासाथ अगाडि बढीरहेका छन । उनीहरु पुर्खा र आफ्नो विरासत कायम राख्न जिम्मेवारी बोधका साथ अगाडि बढन जरुरी छ । यसरी खरालहरुको एउटा ऐतिहासिक विरासत र संघर्षमय गाथा बोकेको इतिहास र गौरवपुर्ण विगत आफ्नै उर्जा र संघर्षले अघि बढेको छ । जागर र चलायमान जाति हुनुको नाताले प्रत्यक खरालले आफुलाई गर्व गर्दा हुन्छ । ( प्राप्त सुझावका आधारमा यसलाई थप परिमार्जन गरिनेछ )